विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै महासंघको कार्यकारिणी समितिको आठौं बैठक सम्पन्न (२०७२/२/१३) 2015-05-27 09:56:58

EC Meeting नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको आठौं बैठक महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारकाको अध्यक्षतामा आज महासंघ सचिवालयमा सम्पन्न भयो । विनाकासकारी भुकम्पपछि बसेको महासंघको कार्यकारिणी समितिको बैठकबाट भुकम्प प्रभावित जिल्लामा पुननिर्माणमा महासंघ सक्रिय रुपमा सहभागि हुने प्रतिवद्धता जनाउंदै तपशीलका महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकमा महासंघका पूर्व अध्यक्ष एवं अनुशासन समितिका सभापति रविभक्त श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष एवं विशिष्टि सदस्यद्वय चण्डिराज ढकाल र कुशकुमार जोशी, उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ, शेखर गोल्छा र कार्यकारिणी समिति सदस्यहरुको उपस्थिति रहेको थियो । निर्णयहरु १. महासंघको अध्यक्ष पद रिक्त भएको घोषणा गर्दै महासंघको रिक्त अध्यक्ष पदको निर्वाचन आगामी असार १८ गते शुक्रवार गर्ने । २. महासंघले रोटरी इन्टरनेशनलसंगको सहकार्यमा विनासकारी महाभुकम्पबाट प्रभावित १४ जिल्लाहरुमा ध्वस्त भएका प्राथमिक विद्यालयहरुको भवन पुनर्निर्माण गर्न महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई संयोजनको जिम्मेवारी दिने । ३. अहिलेको विपतको घडीमा आम नेपाली जनता माझ व्यवसायिक आचार संहितालाई आत्मसाथ गरि सहुलियत र सुपथ मुल्यमै उपभोग्य वस्तु तथा सेवा सर्वसुलभ रुपमा उपलव्ध गराउन मुलुकभरका उद्यमी व्यवसायीहरुमा अपिल गर्ने । ४. भुकम्पबाट उद्योग व्यवसाय सहित मुलुकको समग्र अर्थतन्त्रमा परेको क्षतिका विषयमा महासंघले अध्ययन गरि एक विस्तृत अवधारणा पत्र (Position and Concept Paper) तयार गरी एकहप्ताभित्र नेपाल सरकारमा पेश गर्ने । ५. भुकम्प पीडितहरुको सहयोगार्थ महासंघले भृकुटीमण्डपमा संचालन गरेको साता व्यापी अपरेशन रिलिफ क्याम्पमा सहयोग गर्ने नेपाल सरकार, नेपालमा रहेका विभिन्न विदेशी राजदूतावास तथा अन्य विकास साझेदारहरु, महासंघलाई सहयोग गर्ने सवै संघ संस्थाहरु, स्वयम् सेवकहरु, स्वदेशी एवं विदेशी मेडिकल टिमहरु, संचार माध्यम तथा नागरिक समाजका प्रतिनिधिहरु एवं प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्ने अन्य सवै महानुभावहरुलाई धन्यवाद दिने । महासंघले गत वैशाख १४ देखि २३ गतेसम्म पिडीतहरुको सहयोगार्थ रिलिफ क्याम्प संचालन गरेको थियो । महासंघ सहित महासंघको सदस्य संघ संस्थाहरु जिल्ला नगर उवासंघ, वस्तुगत संघ, दुई राष्टिय उवासंघ सहितको संजाल मार्फत करिव १० करोड वरावरको राहत वितरण गरिएको थियो । ६. भुकम्प र अन्य प्राकृतिक विपत्तिका वखत मुलुकलाई पर्न सक्ने सम्भावित जोखिमबाट जोगाई जनधनको क्षतिको न्यूनिकरण गर्न महासंघले ठोस कार्य योजना वनाई नेपाल सरकार लगायत सम्बन्धित सवै निकायमा पेश गर्ने, ७. महासंघको एसोसिएट सदस्य श्री एभेन्यूज टेलिभिजन प्रा.लि. को इजाजतपत्र रद्द गरिएकोतर्फ महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउंदै तत्काल उक्त टेलिभिजन संचालन गर्ने वातावरण बनाइदिन नेपाल सरकार, सूचना तथा संचार मन्त्रालयसंग आग्रह गर्ने । ८. महासंघका उपाध्यक्ष किशोर प्रधानकी ममतामयी आमाको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने । साथै विनासकारी भुकम्पबाट मृत्यु हुनेहरुका परिवारप्रति हार्दिक समवेदना, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने । वर्षातको समय आइसकेकाले भुकम्पबाट घरवारविहीन हुनेहरुका लागि वर्षात अघिनै अस्थायी आवासको व्यवस्था गर्न नेपाल सरकारमा आग्रह गर्ने । EC Meeting बैठकमा महासंघको कार्यकारिणी समिति सदस्यमा कैलालीका उद्यमी श्री कल्पना गैरेलाई मनोनित गरी सपथ ग्रहण समेत सम्पन्न भयो ।